• आइतबार ३-३१-२०८१
  • 05:11:04

खोइ फुटपाथ? सडकले खायो

साँघुरो सडकमा गाडी र पैदलयात्रु सँगसँगै हुनुपर्छ। छेउमा फुटपाथ हो? तस्बिरः निशा भण्डारी

कोलम्बियाको बोगाटाका मेयर इनरिक पेनोलोसालाई काठमाडौं डाक्ने हो भने उनी भन्ने छन्– नेपालमा लोकतन्त्र छैन।

उनको भनाइमा जहाँ हिँड्ने, साइकल चलाउने र गाडी चढ्नेलाई एकै दृष्टिले हेरिन्न, त्यो सच्चा लोकतन्त्र होइन।

१९९० दशकसम्म बोगाटा सहरीकरणले उकुसमुकुस थियो। १९९८ मा इनरिक आए। हरियाली पार्क बनाए। साइकल र पैदल मार्गको सञ्जाल बढाए। चोक–चोकमा पुस्तकालय खोले। भरपर्दो सार्वजनिक यातायात चलाए। सहरलाई सास फेर्न खुला स्थल दिए।

इनरिकले मृत सहरमा जीवन भरे।

धेरै विकसित सहर यही गर्दैछन्। लन्डन संसारकै उत्कृष्ट पैदल–सहर बन्न खोज्दैछ। हिँड्ने बाटो बनाउन तीन खर्ब रुपैयाँ खर्च गर्दैछ। न्यूयोर्क पनि पुराना रेल्वे ट्रयाक मर्मत गरेर पार्क बनाउँदैछ।

यी विकसित सहरमा गाडी हाँक्ने क्षमता नभएको होइन। बजेट नभएर पनि होइन। उनीहरूले सहर हिँड्नेको पनि हो भन्ने बुझेका छन्। अझ हाँक्नेलाई हिँडाउने प्रयास गर्दैछन्।

काठमाडौं के गर्दैछ?

हामीकहाँ गाडीमा कुद्ने ल्याकत धेरैको छैन। कम्तिमा आधा जनसंख्या पैदलै हिँड्छन्। यो हिँडेरै छिचोलिने सहर हो। बीस किलोमिटर हिँडे दैनिक गन्तव्यमा पुगिन्छ। साँस्कृतिक सम्पदामा सरोबरी हुन पाइन्छ।

हिँड्नेहरू जति धेरै, बाटो उति कम।

कम बाटो, बढी मिचाइ।

जति मिचाइ, उति सवारीको किचाइ।

हाम्रा फुटपाथमा मान्छे विरलै हिँड्छन्। हिँड्न नचाहेर पनि हो। त्योभन्दा बढ्ता हिँड्न लायकै नभएर।

केही दिनयता हामीले काठमाडौं र पाटन पैदल चहार्यौं। फोटो खिच्यौं। हाम्रा फुटपाथमा थरीथरी अवरोध छन्।

फुटपाथ यति साँघुरा छन्, दुई जना हात समातेर हिँड्न मिल्दैन। मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ। धेरैजसो एक मिटर चौडा छन्। कति त आधा मिटर। यस्तोमा फुटपाथ छ भनेर के गर्नु? कुम जुध्छ जुध्छ, खुट्टा टेक्ने ठाउँधरि पाइन्न। अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट।

कालिमाटी-त्रिपुरेश्वर सडकको फुटपाथ। तस्बिरः निशा भण्डारी/सेतोपाटी
जस्तो, बल्खु–कालिमाटी। कालिमाटी–त्रिपुरेश्वर। यी व्यस्त सडक हुन्। गाडी हुइँकिएका हुइँकियै। हिँड्नेहरूको कसलाई मतलब? ती त ठेलिँदै–पेलिँदै गइहाल्छन्। गाडी पो सर्रर कुद्नुपर्यो!

यही सोचले आमाबाबुका हात समातेका केटाकेटी सडकमै हुन्छन्। सामान बोकेका भरिया हुन्छन्। साइकलमा फलफूल–तरकारी बोक्नेहरू हुन्छन्। वृद्ध र शारीरिक अपांगता भएकाहरू हुन्छन्। पछाडिबाट गाडीले छुस्स छोइदेला। आँखा ठूला उनीहरूकै। हकारिहाल्छन्– फुटपाथमा हिँड्नुपर्दैन? तिनलाई कसले सम्झाउने– थाहा नभएर होइन हजुर! फुटपाथमै हामी अट्दैनौं के गर्नु?

सडक विभागलाई पनि थाहा नभएको कहाँ हो र? व्यस्त सडकमा कम्तीमा डेढ मिटर चौडा फुटपाथ हुनुपर्ने नियमै छ। हामीले सोध्दा इञ्जिनियरहरू यसै भन्छन्। सजिलो गरी हिँड्न दुई मिटर चाहिन्छ। हामीले गाली खानै पर्दैन। बुझ्नेले कुरा नबुझेपछि!

यस्ता फुटपाथ सहरभरि छन्। उदाहरण दिएर साध्ये छैन। आज पैदल निस्कनुभयो भने हेक्का राख्नुहोला।

ताजा उदाहरण, कालिमाटी–त्रिपुरेश्वर नै हो। धेरै सकसपछि भर्खरै बन्यो यो सडक। धूलो थामिएकै छैन। सडक फराकिलो बनाउन फुटपाथको चौडाइ घटाइएको छ। एक मिटरभन्दा कम। मान्छे हिँड्न बनाएजस्तै लाग्दैन। सायद, सडक र घरका साँध हुन्।

त्यही पनि ठाउँ–ठाउँ खोस्रेर यसै छाडिएको छ। स्ल्याब छापिएको छैन। खाल्डाखुल्डी छन्। ढुंगा, गिट्टी छन्। बर्खामा हिलाम्मे।

हामीले देख्दादेख्दै आमाको हात समातेर फुत्रुकफुत्रुक हिँडिरहेको बालक एक्कासि हुत्तियो। तर्सिएर कालोनिलो भयो। उसका कलिला मसिना खुट्टा चुच्चा ढुंगामा ठोक्किए। रोएन। अँध्यारो अनुहार लगायो। दाहिने खुट्टाको बूढी औंला समाउँदै आमालाई देखायो। आमाले एकछिन मुसारिन्। फेरि उसैगरी हिँडाइन्।

आमासँग ममता छ, हिँड्ने विकल्प भए पो!

अर्को उदाहरण, ज्ञानेश्वरको फराक सडक। गाडी मज्जाले चल्छन्। मान्छे भने भित्तामै टाँसिनुपर्छ। कमिलाजस्तै। लस्करै। यति ठूलो सडक बनाउँदा हिँड्ने बाटोमा किन कञ्जुस्याइँ? विकास भनेकै सडक र गाडी मात्र हो भन्ने सोच।

कालिमाटी-त्रिपुरेश्वर सडकको फुटपाथ। यी छडबाट जोगिउँ है! तस्बिरः निशा भण्डारी/सेतोपाटी
कुलेश्वर-टेकु सडकको फुटपाथ। यो सानोतिनो डम्पिङ साइट नै हो। कहिल्यै खाली हुन्न फोहोरको डंगुरले। तस्बिरः निशा भण्डारी/सेतोपाटी
साँघुरो फुटपाथमा फेरि हामी पैदलेको मात्र हक छ र?

सडकमा उछिनपाछिन भएपछि गाडी फुटपाथमै घुस्छन्। हामी हिँड्ने बाटोमा बत्तिन थाल्छन्। हतार उनीहरूलाई नै। हाम्रो बाटो आएर हामीलाई नै हर्न बजाउँदै धपाउँछन्। किच्नै खोज्छन्। घुरेर हेर्छन्। मुखामुख लाग्छन्। गाली गर्छन्। सडक पनि उनीहरूकै, फुटपाथ पनि।

अर्काथरी गाडीवाला छन्, जो फुटपाथलाई पार्किङ सम्झिन्छन्। ठाउँ भेट्यो कि गाडी तेर्स्याइहाल्छन्। कहीँ आधा, कहीँ पूरै रजाइँ। मोटरसाइकल सबभन्दा मिचाहा। लस्करै पार्क गर्छन्। मान्छे जहाँसुकै हिँडून्। कार, पिकअप, भ्यान के कम? आधा करोडको गाडी चढ्नेमा आधा पैसाको बुद्धि हुन्न।

फुटपाथमै गाडी राखेपछि हामी हिँड्ने बाटो खोइ? भित्तामा घिस्रिउँ। नभए सडकमा ओर्लुँ। गाडीको मिचाइले गाडीकै किचाइको डर।

काठमाडौंमा हिँड्दा यस्तो क्षण पटक–पटक आउँछ। ठाउँ के भनिराख्नु। एउटा–दुइटा भए पो। तपाईंले पनि भोग्नुभएकै होला।

फुटपाथ मिच्नेमा सडक किनारका दोकानदार पनि कम छैनन्। आधा हिस्सा खर्लप्पै खाइदिन्छन्। पसलको आँगन बनाइदिन्छन्। बल्खुदेखि त्रिपुरेश्वर र थापाथलीसम्मै यही ताल। कसैका भाँडा झुन्डिएका छन्, कसैका पंखा। कहीँ सिरक–डसनाको चाङ छ। कहीँ लुगाफाटाका ह्यांगरमा टाउको ठोक्किन्छ। छलिँदै हिँड्नुपर्छ। हतारमा आँखा नदेखे भुइँभरि छ्यालब्याल। अनि बस्नु, पसलेसँग बाझ्दै।

मोटरसाइकल वर्कसप छ भने त फुटपाथ माया मारे भो। बाटोभरि टायरको चाङ। बिग्रेका मोटरसाइकलको घ्यारघ्यार। मिस्त्रीहरू फुटपाथमै पेन्चिस घुमाइरहेका। मानौं, उनीहरूको निम्ति पसल शोरूम हो, हाम्रो बाटो कारखाना।

महानगरको आँखा यस्ता पसलमा जाँदै जाँदैन। उनीहरूको ‘जानी’ दुश्मन नाङ्ला पसले। साइकलमा फलफूल बेच्नेहरू। सस्ता लुगाफाटा बेच्नेहरू। यिनले पनि फुटपाथ मिच्छन् नै। निमुखा भएकाले नगर प्रहरीको डन्डा पनि खान्छन्। घरभित्र बसेर फुटपाथ मिच्नेलाई कसले डन्डा चलाउने?

पसलेको अर्को रजाइँ छ। आफूकहाँ आउने–जाने बाटो बनाउन फुटपाथै गायब गरिदिन्छन्। दोकान सडकभन्दा अग्लो ठाउँमा हुन्छ। आधा फुटपाथ ढाकेर फलामे सिँढी हाल्छन्। कालिमाटी–त्रिपुरेश्वरमा यस्ता सिँढी थुप्रै देखिन्छ। उहाँ भने एक बित्ता ठाउँ नराखी सडकमा टाँसिन आउने। आफ्नो सजिलोलाई हाम्रो बाटो खाइदिने। हामी के भ्यागुता हौं, उनीहरूको सिँढी उफ्रिँदै हिँड्ने?

मन्दिर अगाडिका फुटपाथमा यस्ता मौसमी पसल सधै‌ंजसो हुन्छन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी
ज्ञानेश्वर-मैतीदेवी सडकको फुटपाथ। अलि ध्यान दिएर हेर्नुहोस् त। यहाँ फुटपाथ पूरै मासेर घरभित्र गाडी छिराउने भिरालो बनाइएको छ। भिरालो सुरु भएको ठाउँमा एक पाइला अटाउन पनि मुश्किल छ। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी
ज्ञानेश्वर-कालोपुल सडकको फुटपाथ। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी
सडकछेउका घरवाला कम्ता जान्ने हुन्छन् र? आफैं इञ्जिनियर। बाटोछेउ टाँसिन आउँछन्। गेट हाल्छन्। गाडी छिराउन फुटपाथको नक्सै बिगार्छन्। कहीँ भिरालो, कहीँ अप्ठ्यारो।

सडक किनार व्यापारिक कम्प्लेक्स वा निजी घर बन्दै छ भने अर्को सकस। फुटपाथ ढकमक ढाकेर जाली। उनीहरूको सजिलोलाई हामी घुम्नु अब! गाडीसँग कुम जोड्नु अब! जहाँ जाली लगाइन्न, त्यहाँ सिमेन्ट, छड, इँटाको थुप्रो।

केहीअघि झम्सीखेल चोकमा निकै दिन बालुवा थुप्रियो। ट्राफिकले हप्कीदप्की लाएर हटाउनुपर्यो। पछि जस्ताको तस्तै। अझ फुटपाथका बारसमेत मिल्काएका छन्। हामी भने थुप्रेको बालुवा, गिट्टीमाथि किचिक–किचिक खुट्टा लर्खराउँदै हिँड्नुपर्ने। निर्माण सामग्री बन्दोबस्त गर्न नसक्नेले सडक किनार अजंग घर किन बनाउनु?

निर्माणाधीन क्षेत्र सबभन्दा खतरनाक। बाटोतिर तेर्सिएका तीखा फलामे छड। खुट्टा चिप्लिए सिधै घोपिने पासो।

यस्ता घरधनी वा व्यापारीले राज्यलाई पनि नोक्सान पार्छन्। उनीहरूको कम्प्लेक्स ठडिने बेलासम्म हाम्रो फुटपाथ छियाछिया भइसक्छ। सडक त सितिमिती नबन्ने ठाउँमा बिग्रेको फुटपाथ बनाउने कल्ले?

बेलाबेला साहुजीहरू कम्प्लेक्स निगरानीमा आउँछन् क्यारे! फुटपाथ र आधा सडक ढाक्ने गाडीको लस्कर। बिहे सिजनमा पार्टी प्यालेस छेउछाउ खुब देखिन्छ यस्तो दृश्य। भोज एउटाको, खान आउने अर्को, दुःख पाउने हामी।

त्यस्तो बेला पार्टी प्यालेसका सुरक्षागार्डलाई हेर्नुपर्छ। चुरीफुरी नै बेग्लै। बडो ट्राफिकले झैं सिठी फुक्दै सडकमा गाडी रोकिरहेको हुन्छ। हाम्रो सुविधाको लागि होइन। त्यही पार्टी प्यालेस आउनेका गाडी छिराउन र निकाल्न।

फुटपाथमा यी निजी व्यवसायी र गाडीवालाको मात्र धरपकड छैन। सरकारी अड्डा पनि उत्तिकै मिचाहा। सबभन्दा मिचाहा, फोहोर उठाउने अड्डा।

सिसडोल भरिएको सूचना ‘लिक’ हुने फुटपाथबाटै हो। उहाँ भरिनेबित्तिकै यहाँ फोहोरको डंगुर। घरघरबाट निस्केका फोहोरदेखि कुहिएका फलफूल र मन्दिरका फूलपातीसम्म। त्यसमा गाईगोरु र कुकुरको झुन्ड मुख जोतिरहेका। यति ठूलो तमासा भएपछि हामीले हिँड्न पाउनु दुर्लभ।

अर्को मिचाहा, विद्युत प्राधिकरण। एक मिटर फुटपाथबीच ठिङ्ग खम्बा। कसरी हिँड्नु?

जस्तो, ज्ञानेश्वर ओरालो। नयाँ बनेको चौडा सडकमा एक मिटरभन्दा साँघुरो फुटपाथ। त्यसैमा दस–दस मिटर दुरीमा बिजुलीका मोटा–मोटा खम्बा। खम्बा छिचोलेर एक जना मान्छे छिर्न मुश्किल।

हरियालीका नाममा पनि मिचिएका छन् हाम्रा फुटपाथ। सडक किनार रूख रोप्ने ती संघ–संस्थालाई सायद रूख रोप्न सिकाइयो, मान्छे हिँड्नुपर्छ भन्ने चेत घुसाइएन। साँघुरो फुटपाथमा ठ्यास्स रूख। हनुमानथानबाट अनामनगर जाँदा सिंहदरबारको पर्खालसँगै साँघुरो फुटपाथमा यस्ता रूख देखिन्छन्। हिँड्न मिल्ने उही आधा मिटर।

रूख रोप्न र मान्छे हिँड्न मिल्ने गरी फुटपाथ डिजाइन खोइ गरेको?

यस्ता फुटपाथमा सबलांग त तैबिसेक जोगिएर हिँड्लान्। शारीरिक अपांगता भएकाले के गर्ने? ह्विलचेयरको पाइडल कसरी मार्ने? चक्का फस्न सक्छ। आँखा नदेख्नेको लौरो अड्किन सक्छ। चक्का फसे झिकिदिने को? लौरो अड्किए उठाइदिने को?

हामी यी सबै यस्तो ठाउँको कुरा गर्दैछौं, जहाँ फुटपाथ छ। साँघुरो भए पनि। मिचिएको भए पनि। खाल्डा र उक्केका स्ल्याब नसम्याइएको भए पनि।

काठमाडौं यस्तो अद्भूत महानगर हो, जहाँ धेरै ठाउँमा फुटपाथै छैन। दायाँबायाँ घरको पर्खाल। वल्लोदेखि पल्लो किनारसम्म कालोपत्रे।

सानेपाको साँचलमार्ग र सत्मार्ग जानेलाई थाहा छ, यहाँ हिँड्दा–हिँड्दै फुटपाथ सकिन्छ। ठाडो ओरालो छ। गाडीहरू हुँइकिएर आउँछन्। हिँड्नेहरू ज्यान बचाउन भित्तामा चेपिनुपर्छ।

यो भित्री सडक हो। साँघुरो थियो। तै दुवैतिर एक मिटर फुटपाथमा हिँड्न पाइन्थ्यो। केही समयअघि सडक फराक पारियो। फुटपाथ मासियो। धेरै गाडी अटाउन मान्छेका पाइला निमोठिए। पैदलयात्रु गाडी हुँइकिने सडकमै जोखिम मोल्न बाध्य भए।

फुटपाथको किन यस्तो दुर्गति?

नीति निर्माताहरू विदेश घुमेका घुम्यै गर्छन्। सडक बनाउने धेरै इञ्जिनियर त उतै पढेर आएका छन्। यहीँ पढेका भए पनि मान्छे हिँड्नुपर्छ भन्ने बुझेकै छन्। यति बुझ्नलाई इञ्जिनियरिङ पढ्नु पनि पर्दैन।

तै हामी किन यति अबुझ?

आधा जनसंख्या लुरुलुरु हिँड्ने सहरमा फुटपाथमाथि किन यत्रो हुडदंग?

जहीँतहीँ यस्तै छ। महिनौंसम्म सामान फुटपाथमा थुप्रिन्छन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी
हामी हिँड्ने बाटोमा गाडीको रजाइँ। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कहाँ हिँड्ने हामी? सडक पनि सवारीको, फुटपाथ पनि? तस्बिरः निशा भण्डारी/सेतोपाटी
हामीले सडक विभागका प्रवक्ता मुक्ति गौतमसँग कुरा गर्यौं। कतिपय ठाउँमा फुटपाथनिम्ति ठाउँ छाड्न स्थानीयसँग कुरा नमिलेको उनले बताए। सत्मार्गमा यही कारणले हिँड्दा हिँड्दै फुटपाथ हराएको सुनाए।

उनलाई सुन्दा, बाटो छिटो बनाइसक्ने दबाबले पनि हतपतको काम लतपत हुँदो रहेछ।

‘सडकछेउ ठाउँ नछाडी कम्पाउन्ड घेरिएका छन्। भन्नेबित्तिकै फुटपाथ विस्तार गरिहाल्न मिल्दैन,’ गौतमले भने, ‘भत्काउन समय लाग्छ।’

भत्काएपछि मात्र बनाउँदा के जान्छ?

‘आयोजना सुरु भएपछि काम सक्ने दबाब हुन्छ,’ उनले भने, ‘सडक बनाइसकेर बाँकी काम पछि गरौंला भन्नेतिर लाग्छौं।’

सडक बनेपछि बाँकी कामको के वास्ता? जाबो फुटपाथमा कसले टाउको दुखाइरहोस्? सडकै समयमा नसक्ने ठेकेदारलाई फुटपाथको झन् के मतलब? खोतलखातल पार्छन्। असरल्ल छाड्छन्। अनि टाप। यस्तै प्रवृत्तिले हो, हाम्रो फुटपाथ खाइरहेको।

यसमा जिम्मेवार को?

हामीकहाँ सडक इञ्जिनियरलाई बाँध्ने कानुनी व्यवस्था छैन। सहरी क्षेत्रभित्र कुन सडक कति चौडा बनाउने? कति फुटपाथ राख्ने? कुनै निर्देशिकाले यसको जवाफ दिँदैन।

राम्रो फुटपाथ हुँदै नभएको होइन। कुन जुगमा बनेको सिंहदरबार सडकमा छ त त्यत्रो फराक फुटपाथ। ह्विलचेयर गुडाउन मिल्ने। कला प्रदर्शनी गर्न मिल्ने। सोखिनहरू गितार र भ्वाइलिनमा भुल्न मिल्ने। जोडीहरू हात समातेर हिँड्न मिल्ने। केटाकेटीलाई साँझको हावा खुवाउन मिल्ने। काठमाडौंमा हावा त खानलायक भए पो!

नयाँबानेश्वर–माइतीघर सडकमा पनि छ मज्जाको हिँड्ने बाटो। लम्किन मिल्ने। दुगुर्न मिल्ने। साइकल कुदाउन मिल्ने।

के ती झुक्किएर बने? नभए त्यही बुद्धि अन्त किन लाउँदैनन्?

अन्त त लाएनन् लाएनन्, त्यत्रो तामझामसाथ बनेको आठलेन रिङरोड त सद्दे बनाउनु। त्यहाँ पनि उही ताल। गाडीलाई आठलेन, गोडालाई डेढ मिटर। त्यो पनि नाम मात्रको। मुनिमुनि ढल, माथिमाथि हामी। ढल छोप्ने स्ल्याब प्वालै–प्वाल। हिलजुत्ता लाएर नजानु है। पेन्सिल हिल त सख्त निषेध।

सडक डिजाइन गर्ने र बनाउनेहरूको भुइँमा खुट्टै पर्दैन कि के हो? गाडी–गाडी नै गुजारा चल्छ कि के हो? नभए यति बुद्धि त हुनैपर्ने।

फुटपाथ मापदण्ड हुँदै नभएको पनि होइन। नेपाल सडक मापदण्ड, २०७० (संशोधित) छ। यसले राष्ट्रिय राजमार्गको कुरा गर्छ। व्यस्त ठाउँमा कम्तिमा डेढ मिटर फुटपाथ हुनुपर्छ भन्छ। मान्छेको चाप जति बढी, फुटपाथ उति चौडा। १५ मिनेटमा पाँच सयभन्दा बढी आउजाउ गर्ने ठाउँमा डेढ मिटर। त्यही समय १५ सय जना हिँड्छन् भने दुई मिटर। ३५ सय आउजाउ गर्ने ठाउँमा तीन मिटर।

यो मापदण्डअनुसार न्यूरोडमा कत्रो फुटपाथ चाहिएला? छ त त्यत्रो? भएका पनि सग्ला कति छन्?

सहरी सडक मापदण्ड छैन भनेर हात बाँधेर बस्नुपर्ने होइन। राष्ट्रिय मापदण्ड कुनै ‘एलियन’ ले ल्याइदिएको होइन। हाम्रै हो। काठमाडौंभित्र यसैको पालना भए पैदलेले राहत पाउँथे।

अरू केही नभए काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बोगाटाका इनरिकले झैं सोचिदिए हाम्रो कल्याण हुन्थ्यो। काठमाडौंको रूप फिर्थ्यो।

सम्झनलाई उनको भनाइ फेरि– ‘जहाँ हिँड्ने, साइकल चलाउने र गाडी चढ्नेलाई एकै दृष्टिले हेरिन्न, त्यो सच्चा लोकतन्त्र होइन।’

इनरिकले यही सिद्धान्त पछ्याउँदै मृत सहरमा जीवन भरे।

काठमाडौंमा नयाँ जीवन भरिने कहिले?

प्रतिकृया दिनुहोस